धादिङ ०६ भाद्र
वैदिक सनातन धर्मावलम्बीहरुको महान् पर्व ‘श्रीकृष्णजन्माष्टमी’ बिहीबार देशैभर भव्यताका साथ मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्ण जन्माष्टमी पर्व धादिङ जिल्लाका विभिन्न कृष्ण मन्दिरहरुमा पूजा, पाठ, ध्यान गरी मनाइएको हो । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ साघुँटारमा पर्ने कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
भक्तजनहरुको भिड व्यवस्थापन तथा प्रसादका लागि साघँुटार टोल सुधार समिति र किबो स्काउट ट्रुपले व्यवस्थापन गरेको हो । करिब ५ हजार भक्तजनहरुले मन्दिरको पूजा अर्चना गरेको तथा मन्दिर व्यवस्थापनका लागि करिब ४ लाख दान सहयोग उठेको साघुटार सुधार समितिका सचिव विकास कोइरालाले बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिका ३ सुगमटोलमा रहेको राधाकृष्ण मन्दिरमा पनि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस