धादिङ २८ मंसिर
आफ्नो पाँच बर्षे कार्यकालमा ज्वालामुखी गाउँपालिका भित्र एक घर,एक धारो पुराउने गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ । शुद्ध खानेपानी खान पाउने नागरिकहरुको अधिकारलाई सम्बोधन गर्नको लागि गाउँपालिका तयार रहेको भन्दै पालिका भित्रका सबै नागरिकहरुको घरघरमा धारो पु¥याईने लक्ष्य रहेको बताउनु भएको हो । ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ ठकुरीगाउँमा निमार्ण सम्पन्न भएको लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।
ज्वालामुखी गाउँपालिकाको सहकार्य र शान्ति नेपाल र फादर अल्फारोको संयुक्त लगानीमा सम्पन्न भएको खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बिच प्रमुख अतिथि ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम नाथ दनै र शान्ति नेपालका कार्यकारी निर्देशक फुल राज शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको हो । कुल ८७ लाख ८८ हजार ७ सय ७ लागतमा सम्पन्न भएको खानेपानी आयोजनाबाट २४ घरधुरीका १ सय १० जना भन्दा बढी नागरिकहरु लाभान्वित भएका छन् ।
कार्यक्रममा खानेपानी संकलनको लागि ट्याङ्की निमार्ण गर्ने जग्गादान गर्ने खुमराज सेढाई र गिर बहादुर मल्ललाई खादा र प्रमाण पत्रबाट सम्मान गरीएको थियो । त्यस्तै खानेपानी आयोजना सम्पन्न गर्नको लागि नगद ५० हजार आर्थिक सहयोग गर्ने जनयुद्धका सहिद हरि भट्टको सम्झनामा नीजका बुबा अक्षता नन्द भट्टलाई पनि प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
ठकुरीगाउँ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम नाथ दनैको प्रमुख आतिथि गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठ,शान्ति नेपालका कार्यकारी निर्देशक फुलराज शर्मा,स्वास्थ्य संयोजक सुजन श्रेष्ठ लगायत उपभोक्ता समितिका पदाधिकारी,उपभोक्ता तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।यसैगरी घरघरमा पानी आएपछि स्थानीयबासीहरु खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस