चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढेको छ भने आयात समेत घटेको छ । आयातमा साढे ३ गुणाले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को ४ महिनामा १५ करोड ४५ लाख ६ हजार रूपैयाँको अदुवा निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको ४ महिनामा ६४ करोड १४ लाख ५६ हजार रूपैयाको अदुवा निर्यात गरेको छ ।
जसमा नेपालले निर्यातको ९० प्रतिशत भारत तथा कतार र जर्मनीमा निर्यातको १० प्रतिशत अदुवा निर्यात गरेको भन्सार विभागले जनाएको छ । यस्तै गत आर्थिक वर्षको ४ महिनामा ६ करोड ३१ लाख ५ हजारको अदुवा आयात गरेको नेपालले चालु आर्थिक वर्षको ४ महिनाम जम्मा १ करोड ३ लाख ५८ हजारको अदुवा आयात गरेको छ । गत वर्षको तुलनामा ४ करोड ४७ लाख ४७ हजारले कम हो ।
कृषि तथा पशुपन्छी मन्त्रालयले भने आयात घट्नु र निर्यात बढ्नुले नेपाल अदुवामा आत्मनिर्भर हुँदै गएको सङ्केत गरेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा अदुवा लगाइने क्षेत्रफल १८ हजार ९ सयय ४१ हेक्टर छ । यो विश्वमा लगाइने कूल क्षेत्रफलको पाँचौँ स्थानमा नेपाल पर्दछ । उत्पादनका दृष्टिले नेपाल विश्वभरमा नेपाल तेस्रो स्थानमा छ ।
तर, सरकारले अदुवाको व्यवसायीकरण, निर्यात, बजारीकरणमा खासै चासो नदेखाएको उत्पादकको गुनासो छ । अदुवामा आत्म निर्भर बन्न सरकारले निर्यातलाई बढाबा दिनेगरी काम गरिरहेको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले बताउनुभयो । मन्त्रालयका अनुसार नेपालमा करिब तीन लाख मेट्रिक टनसम्म अदुवा उत्पादन हुन्छ । जसको ५० प्रतिशत मात्रै नेपालमा खपत हुन्छ । अदुवाको बजारीकरण गर्न नसक्दा किसानका अदुवा बारीमै कुहिने गरको छ ।
प्रतिक्रिया दिनुहोस