धादिङ ०६ भाद्र
मानसिक तथा मनोसामाजिक समस्या बढ्दै गएकाले त्यसलाई रोकथाम र न्युनीकरण गर्ने उद्देश्यले उत्थान नेपालको प्राविधिक सहयोग तथा रुवीभ्याली गाउँ पालिका स्वास्थ्य शाखाको आयोजनामा धादिङबेसीमा २ दिने आधारभूत तालिम सुरु भएको छ । स्थानीय तहका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरुका लागि आयोजित तालिममा मानसिक तथा मनोसामाजिक समस्या भनेको के हो ? यसको पहिचान कसरी गर्ने ? यसका लक्षणहरु के के हुन्छन् ? यसको न्युनीकरणमा स्थानीय तहको के भूमिका रहन्छ ? जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीहरुको कस्तो भूमिका रहन्छ ? भन्ने जस्ता विषयमा केन्द्रित रहेर आयोजित कार्यक्रममा रुवीभ्याली गाउँ पालिकाका अध्यक्ष चेरोङ तामाङ, उपाध्यक्ष विना मम्बा तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
३ चरणमा आयोजित कार्यक्रममा २ दिन रुवीभ्याली गाउँ पालिकाका पदाधिकारी सहित जनप्रतिनिधिहरुलाई, २ दिन स्वास्थ्यकर्मीहरुलाई र २ दिन कर्मचारीहरुलाई प्रशिक्षण दिइने छ । उत्थान नेपालका कार्यकारी निर्देशक तथा लामो समय मनोसामाजिक परामर्शको क्षेत्रमा काम गरेका मनोविमर्सकता सुदिप घिमिरे र राम कुमार थापाले सहभागीहरुलाई प्रशिक्षण गराउनु हुनेछ । गाउँ पालिका अध्यक्ष चेरोङ तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष विना मम्बा तामाङ, उत्थान नेपालकी सचिव सविता अर्याल, उत्थान नेपालका कार्यकारी निर्देशक सुदिप घिमिरे, जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाल, रुवीभ्याली गाउँ पालिकाका स्वास्थ्य संयोजक शिव प्रसाद रिाजल, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रमममा शुभकामना मन्तव्य राख्दै जनस्वास्थ्य अधिकृत रिजालले सबै नागरिकहरुले मानसिक स्वास्थ्यको बारेमा बुझ्न नसकेकाले बुझाउन जरुरी रहेको बताउँदै आर्थिक, सामाजिक, पारिवारिक, सांस्कृतिक जस्ता समस्याहरुले मानसिक रोगी बनाउने बताउनु भयो ।
यस्तै स्थानीय तहका जनप्रतिनिधि, महिला स्वयमसेवक, स्वास्थ्यकर्मीहरुबाट मानसिक समस्याको बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने समेत बताउनु भयो ।
शुभकामना मन्तव्यकै क्रममा गाउँ पालिकाकी उपाध्यक्ष विना मम्बाले मनोविमर्सकताको अभावका कारण रुवीभ्यालीमा मानसिक समस्या तथा आत्महत्याको घटनाहरु बढ्दै गएको बताउनु भयो । यस्तै गाउँ पालिका अध्यक्ष चेरुङ तामाङले आगामी वर्ष गाउँ पालिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेर प्रत्येक टोल बस्तीमा मानसिक स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस