सुदिप घिमिरे
हरेकदिन संचारमाध्यम्मा आत्महत्याका समाचारहरु सुन्न र हेर्ने पाइन्छन् । तर आत्महत्या के कारण भयो भनेर कारणलाई व्यवस्थापनामा ध्यान दिइदैन । नेपालमा हरेक दिन १५ भन्दा बढी व्यक्तिहरुले आत्महत्या गर्ने तथ्यांक छ । उक्त तथ्यांक हरेक दिन बढी रहेको छ । मानसिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुका लागि आत्महत्याको बिश्वभर गम्भीर चासोको रुपमा बढेको छ । समुदायमा सचेतना फैलाउने उदेश्यले यस आलेखमा आत्महत्या के हो ? समस्या भएको कसरी थाहा पाउने र समस्यावाट छुटकरा पाउन के गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत छ ।
आत्महत्या के हो ?
आत्महत्या नितान्त व्यक्तिगत कुरा हो । व्यक्तिले यस्तो कार्य गोप्य रुपमा गर्दछ । आफ्नो जीवन आफैं समाप्त पार्ने योजना बनाउनु वा बिभिन्न माध्यमबाट आफ्नो जीवन आफैंले समाप्त गर्न खोज्छ भने त्यो नै आत्महत्या हो । आफ्नो समस्या निराकरण वा समाधान गर्न नसके पछि व्यक्तिले यस्तो काम गर्छ । परिवारका सदस्य, समाजका व्यक्ति र साथी भाइले आफ्नो समस्यालाई नबुझेको महसुश गरेमा आफूलाई बेकार ठानी अन्तिम उपायको रुपमा आत्महत्या गर्ने गदर्छन् ।
आत्महत्याका कारणहरु
आत्महत्या व्यक्ति यही कारणले गर्छ भनेर किटेर भन्न सक्ने अवस्था छैन् । पहिले पहिले प्रेममा असफल भएका व्यक्तिले बढी आत्महत्या गर्छन् भन्ने चलन थियो । तर अहिलेको अवस्थामा सामाजिक कारणहरु बढी पाइएका छन् । सामान्यतय उदासिनता भएको व्यक्तिले आत्महत्या धेरै गर्छन् भनिन्छ । उदासिनता भएको व्यक्तिले प्रायजसो आत्महत्या गर्ने गर्दछन् भनिन्छ । किनभने यस्ता व्यक्तिहरुको मनमा सामान्यभन्दा धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी नै उतार चढाव भइरहन्छ । आफूलाई एकदमै दयनिय अवस्थाको ठान्ने र जीवनप्रति कुनै रुची नहुनु अनि भविश्यप्रति आशा नराख्नु नै उदासीपन हो । आफ्नो उदासीपन, निराशापन र नकारात्मक भावनालाई हटाउनको लागि रक्सी र अन्य लागू औषधको प्रयोग गर्दछन् तर रक्सी र अन्य लागू औषधले मस्तिष्कको सामान्य कार्यमा शिथिलता ल्याउछ र व्यक्तिमा उदासिनता आउँछ । यसको साथै रक्सी र लागू औषधले ल्याउने धेरै प्रकारका शारीरिक समस्याहरु र आर्थिक स्थिती कमजोर बन्दै जानाले व्यक्तिमा बाच्ने रहर कम भएर जान्छ र आत्महत्याको सोच बनाउँदछन् । त्यस वाहेक जटील मानसिक रोग लागेका व्यक्तिहरुले आत्महत्या गर्न सक्छन् । त्यस वाहेक सामाजिक समस्याहरु वा मनोसामाजिक समस्याहरु जस्तै ः बैवाहिक जीवन आनन्दमय नहुनु, कसैसँंग पनि राम्रो सम्बन्ध विकास नहुनु, अचानक जागिर जानु, भावनाहरु पोख्ने ठाउ वा व्यक्ति नहुनु, किशोर किशोरीहरु स्कूलमा फेल हुदा, प्रेमी पे्रमीकाबिचको बिछोड, आमाबाबु बिचको सम्बन्ध राम्रो नभएको अवस्थामा हुने तनावले आदि आत्महत्याका कारण बनेका छन् । कतिपय व्यक्तिहरु रीसको आवेगमा पनि आत्महत्या गर्ने गर्दछन् ।
व्यक्तिले आत्महत्या गर्दैछ भन्ने कुरा कसरी थाहा पाउने ?
सामान्यतय व्यक्तिको भावना समय र परिस्थिति अनुसार निर्माण हुन्छ । रमाइलो वातावरण भयो भने रमाइलो किसिमले प्रतिक्रिया दिने, दुखलाग्दो अवस्था भए दुखीत हुने व्यक्तिको स्वभाविक प्रतिक्रिया हो । तर जो व्यक्तिलाई आत्महत्याको विचार वा सोच छ त्यस्ता व्यक्तिहरुको भावना एकै नासको हुदैन् । उनीहरुको भावनामा विना कारण उतार चडाब आँउछ । सोचेको जस्तो पुगेन वाभएनभने व्यत्ति mएकदमै रिसाउने, झर्किने, छिटो हतोत्तसाही हुने, अस्वभाविक रुपमा दुःखी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ । कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । आफूलाई योग्यहिन महशुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिहन्छन् । त्यही अनुसार मर्नका लागि गोप्य रुपमा तयारी समेत गरेका हुन्छन् । मेरो कोही छैन, मलाई कसैले फुटेको आँखाले हेर्दैनन्, म के को लागि बाच्ने भन्ने शव्दहरु व्यक्त गरिरहेको पाइन्छ । आत्महत्या गरेपछि सामाजिक तथा पारिवारीक रुपमा भोग्नु पर्ने समस्या भन्दा आत्महत्या गर्दा हुन आउने फाइदाको वारेमा मनमा कुरा खेल्न थाल्छ । अनि आफूसंग भएका महत्वपूर्ण सामानहरु बडिदिने काम गर्दछन् । यी लक्षणबाट हामीले बुझ्न पर्ने हुन्छ व्यक्तिमा आत्महत्याको योजना वा विचार छ ।
कसरी सहयोग गर्ने ?
आत्महत्याको विचार व्यक्त गर्नु र उसमा आत्महत्या सम्बन्धी कुराहरु वारम्वार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नु पर्छ । समस्या समाधानको लागि सहयोग सम्झनु पर्छ । यदीव्यक्तिमा यस्तो भावनाहरु पाइएमा परिवारका सदस्यले ध्यानदिएर उनको गुनासा र समस्याप्रति कुराकानी गर्नुपर्छ । उसलाई सल्लाहदिनु भन्दाउसको मनमा रहेका भावनाहरु पोख्ने वातावरणको सृजना गर्नुपर्छ । आत्महत्याको विचार वा भावना भएका व्यक्ति परिवारको कुन सदस्यसंग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउनु पर्छ । परिवारका सदस्यहरुले व्यक्तिलाई एक्लै छोड्नु हुदैन्, राती सुतेको वेलामा पनि ध्यान दिएर सुत्नु पर्छ । हाम्रो समाजमा आत्महत्याको वारेमा खुलेर कुरा गर्दा आत्महत्याको विचारलाई प्रोत्साहान मिल्छ भन्ने विश्वास छ तर यो विश्वास गलत हो । यदी यस्ता व्यक्तिसंग राम्रोसंग कुरा गरेमा व्यक्तिलाई मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्तिरहछन् भन्ने भावनाको विकास हुन्छ । अनि व्यक्तिले आफ्नो भावना सकारात्मक हुन सहयोग पुग्छ । यदि व्यक्तिले आफूलाई मार्नको लागि सामाग्री नै लुकाएर राखेको छ भने त्यस्ता व्यक्ति पूर्ण जोखिममा भएको बुझ्नु पर्छ ।
समस्याको गम्भीरता
साधारण : आत्महत्याको सोचाई आउनु, मर्नेवारे योजना वनाई नसक्नु, म मर्छु भनेर वारम्वार कुराकानी गर्ने ।
मध्यम : आत्महत्याको सोचाई आउनु, मर्नेवारे योजना वनाउन सुरु गर्ने तर योजना तयार भईनसकेको । म मर्छु भनेर वारम्वार कुराकानी गर्ने
गम्भीर : आत्महत्याको सोचाई बारम्वार आउनु, मर्नेवारे स्पष्ट योजना, म मर्छु भनेर वारम्वार कुराकानी गर्ने ।
धेरै गम्भीर : आत्महत्याको सोचाई बारम्वार आउनु, मर्नेवारे स्पष्ट योजना, प्रयास समेत गरेका, म मर्छु भनेर वारम्वार कुराकानी गर्ने ।
आत्महत्याको वारेमा जस्तो सुकै जानकारी पाउन साथ तुरुन्तै पेसागत व्यक्ति वा स्वास्थ्यकर्मीको सहयोग लिइहाल्नु पर्छ । आत्महत्याका सोच आएका व्यक्तिहरुसंग बादबिवाद गर्नु हुदैन । तेरो कारणहरु हाम्रो इज्जतमा दाग लाग्यो भनेर नचाहिदा भनाईहरु सुनाउनु हुदैन् । आत्महत्याको विचार व्यक्तिमा आउनुका कारण पत्ता लगाउने तर्फ लाग्नु पर्छ । समस्या समाधानको विकल्प नदेखेपछि व्यक्तिले अन्तिम उपायको रुपमा आत्महत्या रोजेका हुन्छन् त्यसैले गालीभन्दा माया, समस्या निराकणको लागि सहयोग गर्नु पर्छ । समस्या सबै व्यक्तिलाई हुन्छ । समस्यासंगै व्यक्ति आफैमा समाधानका उपाय पनि हुन्छन् । हरेक व्यक्तिलाई प्रकृतिले राम्रा गुणहरु दिएको हुन्छ । समस्यामा भएको वेला व्यक्तिको मनमा समस्या मात्र हुन्छ । आफूमा भएका राम्रा गुणको वारेमा ध्यान हुदैन् । त्यसैले सकारात्मक रुपमा व्यक्तिलाई हेर्ने मौका दिनु पर्छ । भविष्य राम्रो छ । बाच्नुजेल किन आफ्नो शरीरलाई दुख दिने । आखिर सवै मर्नु नै पर्छ भनेर जीवनप्रति आशा जाग्ने खालका कुराहरु गर्नुपर्छ । आत्महत्या गर्ने विचार भएका व्यक्तिहरुसंग आत्महत्या पछि आउने नकारात्मक परिणामको वारेमा कुरा गर्नुपर्छ । धार्मिक रुपमा पनि आत्महत्या गर्नु महापापको रुपमा लिइन्छ । यदि तपाईले कुराकानी गर्दा पनि त्यसलाई नियन्त्रण गर्न कठिन भएमा तुरुन्त मनोविमर्शकर्ता वा अस्पतालको सहयोग लिनु पर्छ ।
प्रायजसो मानसिक समस्यामा रहेका व्यक्ति, लागुपदार्थ सेबन गर्ने व्यत्तिहरु आत्महत्याको जोखिमा पर्दछन् । त्यस बाहेक मर्नका लागि पहिले पनि प्रयास गरेका व्यक्तिवा परिवारका अन्य सदस्यहरु पनि आत्महत्या नै गरेर मरेका छन् भने यस्ता परिवारका सदस्यहरु जोखिमपुर्ण मान्नुपर्छ । सामाजिक तथा पारिवारिक तनाव, सामाजिक बहिस्कारमा परेका व्यक्ति र प्राय एक्लै बस्ने व्यक्तिहरु पनि आत्महत्याको जोखिममा पर्न सक्छन् । त्यसैले समस्यालाई निराकण गर्न सकारात्मक व्यवहार, सोच र सकारात्क रुपमा जीवन जीउने शैली समग मनलाई स्वास्थ्य राख्ने उपाय मानिन्छन् ।
धादिङ्गमा के गर्न सकिन्छ ?
धादिङ्ग मनोसामाजिक समस्या र मानसिक समस्यावाट प्रभावित जिल्ला हो । सन् २०१५ मा आएको विनासकारी भुकम्पले धेरै व्यक्तिहरुलाई असर गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय र केही गैरसरकारी कार्यालयहरुले मानसिक क्षेत्रको सुधारका लागि राम्रो प्रयास गरेका थिए, तर त्यस्ता कार्यक्रमले दीर्घकालिन प्रभाव दिन सकेनन् । कार्यक्रमको समापनसँगै सरकारी तथा गैरसरकारी संस्थाको प्रयास सफल हुन सकेन । हाल दात्रृ संस्थाहरुको सहयोग विना नै विस्तारै फेरी सरकारी प्रयासहरु सुरु भएका छन् । केही गाउँपालिकाहरु र नगरपालिकाहरुले मानसिक स्वास्थ्यको क्षेत्रमा वजेट विनियोजन गरेका छन् । विनियोजित रकम प्राय क्षमता अभिवृद्धिमा खर्च भईरहेको छ । आत्महत्यालाई जोड दिएर अनुसन्धानहरु भएका छैनन् । कार्यक्रमहरु पनि चाहे जति भएका छैनन् । किन धादिङ्गमा आत्महत्याका घटनाहरु बढेका छन् । त्यसको अनुसन्धान हुनु जरुरी छ । अनुसन्धानले कारणहरु खोज्न सहयोग गर्छ । त्यसले पारेको असर पत्ता लाग्छ । सोही अनुसार मनोसामाजिक सहयोगका कार्यक्रमहरु लैजान सजिलो हुन्छ । समस्या पहिचान गर्न गाउँपालिका र नगरपालिका स्तरमा स्वास्थ्य संयोजकको नेतृत्वमा आत्महत्या विरुधको अभियान समुह नै वनाउन सकिन्छ । उक्त समुहले गाउँपालिका स्तरमा सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य समस्याको पहिचान गर्ने, आधारभुत मनोसामाजिक सहयोग, मनोविमर्श सेवा र औषधी उपचारका लागि जिल्ला स्तरमा सहकार्य गर्न सक्नेछन् । त्यसका लागि गाउँपालिकाहरुले आफ्नो नियमित बजेटको केही रकम विनियोजन गर्ने जरुरी देखिन्छ । हालै उत्थान नेपालले मानसिक स्वास्थ्यमा जोड दिएर काम गर्न लागेको छ । जिल्ला स्तरमा, गाउँपालिका स्तरमा मानसिक तथा मनोसामाजिक स्वास्थ्यको नीति निमार्ण, मानसिक क्षेत्रमा मनोशिक्षा कार्यक्रम, क्षमता अभिबृद्धि, अनुसन्धान जस्ता क्षेत्रमा दीर्घकालिन प्रभाव पार्ने कार्यक्रमको तयारी गरेको छ । त्यसका लागि सञ्चार माध्यम्, जिल्ला स्वास्थ्य, गाउँपालिका, नगरपालिका र संघ संस्थाहरुको समन्नय, ऐकेबद्धता र सहकार्य जरुरी देखिन्छ ।
(लेखक उत्थान नेपालका कार्यकारी निर्देशक हुन् ।)
[email protected]
प्रतिक्रिया दिनुहोस