धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित धादिङ–पोखरा सम्पर्क समाजले सामरी भज्याङ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले विद्यालयलाई चेक हस्तान्तरण गर्नुभएको हो । गरिब,जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पठन पाठन गर्न सहजहोस भनेर अक्षय कोषको स्थापना गरिएको हो ।
विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले धादिङ पोखरा सम्पर्क समाजले ३ लाख ११ हजार १ सय ११ रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर ढुंगानाले धादिङ–पोखरा सम्पर्क समाजले राखेको अक्षयकोषमा नगरपालिकाको तर्फबाट पनि केहि रकम थप गरिदिने बताउनुभयो । यस अघिका अध्यक्षले गर्न नसकेको कार्यको पहल गदामी अहिलेको सम्पर्क समाजका अध्यक्षले गरेकोप्रति खुशी व्यक्त गर्दै विद्यालयलाई उत्कृष्ट बनाउन सबै व्यबस्थापन समिति शिक्षक शिक्षिकालाई आग्रह समेत गर्नुभयो ।धादिङबाट पोखरा गई विभिन्न पेशा तथा व्यवसाय गरेर पनि जिल्लावासीको हितका लागि महत्वपूर्ण काम गरेको भन्दै मेयर ढुंगानाले धन्यावद दिनुभयो ।
त्यस्तै कार्यक्रमको सभाध्यक्ष समेत रहेको अध्यक्ष गोकर्ण लम्सालले अघिल्ला वर्षमा राहत र शैक्षिक सामाग्री वितरण गर्दै आइरहेकोमा पछिल्ला केही वर्षदेखि अक्षयकोष स्थापना गरेर अघि बढेको समाजका अध्यक्ष गोकर्ण लम्सालले बताउनुभयो । समाजले यसअघि धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमोदय मावि,ज्वालामुखी गाउँपालिकास्थित ज्ञानज्योति स्कूल र गजुरी गाउँपालिकास्थित गजुरी पीडा मावि,सिद्धलेकको कालिकादेवीमा अक्षयकोष स्थापना भएको समाजका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईली,वडा नम्बर १०का वडा अध्यक्ष सरोज पाण्डे,नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,कार्यपालिका सदस्यहरु चिनामायाँ श्रेष्ठ,राम्री नेपाली,समाजका सचिव टिका बहादुर लम्साल,विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीहरु लगायत धादिङ पोखरा सम्पर्क समाजका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस