धादिङ ०७ मंसिर
नीलकण्ठ नगरपालिका ३ पुछारबजारमा अवस्थित एड्भान्स एकेडेमीको १६ औँ खेल उत्सव २०७९ बुधबार विद्यालय प्राङ्गणमा भव्य कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको उक्त उद्घाटन समारोह विद्यालयका कम्पनी अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीको अध्यक्षतामा सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण कुमार श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद कोइरालाको विशिष्ट आतिथ्यता रहेको थियो भने विद्यालयका भाइस प्रिन्सिपल रामकुमार श्रेष्ठले कार्यक्रममा सञ्चालकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रमबीच आफ्नो स्वागत मन्तव्य राख्दै विद्यालयका खेलकुद संयोजक अमृत तामाङले भविष्यमा जुनसुकै लक्ष्य राखेका वालवालिकाहरूलाई स्वस्थ र स्फुर्त रहन खेलकुदले सहयोग गर्ने भएकोले विद्यालयले हरेक वर्ष खेल उत्सव मनाउने गरेको जानकारी गराउनुभयो ।
कार्यक्रमको उद्घाटनपछि प्रमुख अतिथि लम्सालले पनि आफ्नो शुभकामना मन्तव्यमा खेलकुदले व्यक्तिको अनुशासन र सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा शैक्षिक क्रियाकलाप सँगै खेलकुदका गतिविधिहरूलाई पनि महत्वका साथ सञ्चालन गरिनुपर्ने विषयलाई जोड्नुभयो । त्यसैगरी विद्यार्थीहरूलाई भविष्यमा सक्षम र सफल खेलाडी, शिक्षक, इन्जिनीयर, प्रशासक, व्यवसायी, कृषक बन्न हौसला प्रदान गर्नुभएको थियो ।त्यसैगरी कार्यक्रमको उत्तरार्धमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले विद्यार्थीहरूलाई पढाइलेखाइ मात्र नभई खेल र नृत्यको माध्यमबाट जागरुक बनाउन विद्यालय परिवार अनवरत खटिरहेको कुरा बताउनुभयो ।विद्यार्थीहरू र उनीहरूका अभिभावक समेतको उत्साहजनक उपस्थितिमा विद्यार्थीहरू तथा शिक्षकहरूका विविध प्रस्तुतिसहित कार्यक्रम सम्पन्न गरिएको हो ।
विगतका वर्षहरूमा झैँ यस वर्षको १६ औँ एड्भान्स खेल उत्सव मङ्सिर ७ गतेदेखि १२ गतेसम्म ६ दिन साठीवटा भन्दा बढी खेलहरू सञ्चालन गरी भव्य रूपमा मनाइनेछ । खेलतालिकाअनुसार सबै विद्यार्थीहरू, अभिभावकहरू र शिक्षकहरू छुट्टाछुट्टै खेलहरूमा सहभागी हुँदै १६ औँ खेल उत्सव यही मङ्सित १२ गते समापन गरिने विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस