सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न अपिल जारी गरेको छ ।
गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ ।
कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी भएकाले गठबन्धनको विजय सुनिश्चित रहेको दाबी गरिएको छ । झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको पनि अपिलमा उल्लेख गरिएको छ ।
मुलुकको विदेश नीतिमा सन्तुलन कायम हुनुका साथै नागरिकलाई सत्ताको अधिनायकवादी त्राशबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको पनि गठबन्धनको भनाइ छ ।
‘गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्’, अपिलमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस