धादिङ ३२ श्रावण
शरीरका प्रत्येक अङ्ग प्रत्यङ्गलाई स्वस्थ राख्न खेलकुद अति नै महत्त्वपूर्ण हुने प्रदेश सांसद डा. राम कुमार अधिकारीले बताउनु भएको छ । एडभान्स एकेडेमी धादिङले शनिबार एस इ इ व्याच २०७५ को विदाई तेक्वान्दोको फस्ट डान बेल्ट वितरण तथा सम्मान कार्यक्रममा बोल्दै सांसद अधिकारीले विद्यालयमा खेलकुदलाई अनिवार्य गराउने विद्यालयलाई आफूले उच्च सम्मान गर्ने गरेको समेत बताउनु भयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत तुल बहादुर महतको विशेष आतिथ्यता रहेको थियो । विद्यालयको पाठ्यक्रममै समावेश गरी कक्षा ३ देखि तेक्वान्दो कक्षा सञ्चालन गर्दै आएको एडभान्स एकेडेमीले १७ जना विद्यार्थीहरुलाई अन्तराष्ट्रिय मान्यता अनुसारको व्ल्याक बेल्टको प्रमाणपत्र वितरण गरेको थियो भने ७७ जना विद्यार्थीहरुलाई ब्ल्याक बेल्ट वितरण गरेको थियो ।
यस्तै शैक्षिक सत्र २०७५ को एस.इ.इ परीक्षामा उत्कृष्ठ नतिजाका साथ सफल विद्यार्थीहरुलाई बधाइ तथा सम्मान गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक गोविन्द बुढाथोकीले विद्यालयको पाठ्यक्रममै निर्दिष्ट गरी तेक्वान्दो शिक्षण गर्ने पहिलो विद्यालय एडभान्स एकेडेमी रहेको बताउदै अतिरिक्त कृयाकलापमा एडभान्स एकेडेमी जिल्लाकै मात्र नभएर देशकै अग्रस्थानमा उभिन सफल भएको जिकिर गर्नुभयो ।
कार्यक्रमकै अवसरमा विद्यालयका तेक्वान्दो प्रशिक्षक एवं धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अमृत तामाङले लेख्नुभएको तेक्वान्दो शिक्षण सम्बन्धी पुस्तक समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस