धादिङ २६ कार्तिक
धादिङमा मंसिर २१ गतेदेखी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघको आयोजनामा मंसिर २१ गतेदेखी भलिबल प्रतियोगिता सन्चालन गर्ने निर्णय भएको जिल्ला भलिबल संघका जिल्ला अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो।
भलिबल खेलको प्रबद्र्धन र विकास गरी जिल्लाका खेलाडीहरु पहिचान गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले जानकारी दिनुभयो ।जिल्ला भित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउने पाउने उक्त प्रतियोगिताको टिम दर्ता शुल्क भने पाँच हजार रहेको छ।
धादिङबेसीमा सन्चालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित टफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीय हुने टिमले नगद ५० हजार ५ सय ५५ र तृतीय हुने टिमले २० हजार २ सय २२ रुपैँया सहित टफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
टिम दर्ताको लागि एक टिममा १२ जना मात्र हुनुपर्ने,१–१ जना टिम कोच र टिम म्यानेजर हुनुपर्ने,जिल्ला भित्रका खेलडी मात्र सहभागी हुन पाउने,अनिवार्य अगाडी पछाडी जर्सिमा नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस