धादिङ श्रावण ३१
नसर्ने रोगको प्रमुख कारण विषादीयुक्त तरकारी सेवन भएकाले तरकारीहरुमा विषादी प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । विषादी प्रयोग गर्दा आँखा, गुप्ताङ्ग, बच्चाहरुको छाला, गर्भवती महिलाको छालाबाट सिधै शरीरको भित्री भागमा प्रवेश गर्ने भएकाले साबधानीका साथ विषादी प्रयोग गर्नुपर्ने कुरा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराइएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल र साउतीको आयोजनामा भएको विषादी सम्बन्धी कानून र कार्यान्वयन विषयक अन्तरकृया कार्यक्रम उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष वेद बहादुर खाँडको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको प्रमुख आतिथ्यता र नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता, उपभोक्ता हित संरक्षण नेपालका अध्यक्ष ज्योति बानिया लगायतको विषेश उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उप प्रमुख मनराज भण्डारीले स्थानीय तहलाई पनि उपभोक्ता हित संरक्षणको जिम्मेवारी भएकाले नियमति अनुगमन गर्ने गरेकाले अन्नबालीमा विषादी नियन्त्रण गर्न कृषकलाई नै सचेत गराउनु पर्ने तथा उपभोक्ताहरु पनि सचेत हुनुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि भागिरथ पाण्डेयले नेपालको विषादी नियन्त्रण सम्बन्धी कानुन नै लचिलो भएको बताउदै अरुको स्वास्थ्यमा हानी हुने किसिमले विषादी प्रयोग गर्न नहुने बताउँनु भयो । विषादी नियन्त्रण सम्बन्धी कानुन राष्ट्रिय सभामा छलफलको क्रममै रहेकाले देशका विभिन्न क्षेत्रमा छलफल गरी सुझाव सङ्कलन गरेर राष्ट्रिय सभामा पेस गरिने आयोजकले बताएको थियो । कार्यक्रमका सहभागीहरुले विषादी नियन्त्रण सम्बन्धी स्पष्ट कानुन र विषादी प्रयोग सम्बन्धी कृषकहरुमा चेतना अभिवृद्धि गराउने तथा अनुगमनको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा धादिङका विभिन्न स्थानका कृषकहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस