धादिङ,४ कात्तिक
धादिङको नीलकण्ठ नगरपालिकाले धादिङबेसी भित्रका बजार अनुगमन गरेको छ । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसँगै बजारमा भैरहेको महंगी र म्याद गुज्रिएका सामानहरू विक्री वितरण हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमन गरिएको हो ।
नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक दिपक विश्वकर्माको संयोजनमा शुक्रबार सिरान बजार, विच बजार, विपि टोल लगायतका ठाउँमा रहेका किराना स्टोर, मासु पसल, मिठाई पसल र फलफुल पसल अनुगमन गरिएको हो । अनुगमनका क्रममा सिराना बजार र क्याम्पस चोक अगाडिको किराना पसलबाट म्याद गुज्रेको विस्कुट, पेय पदार्थ र हर्लिक्स जफत गरिएको प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा म्याद गुज्रिएका ३ कार्टुन विस्कुट जफत गरी नष्ट गरिएको छ । खाद्य पसलमा म्याद गुज्रेका पेय पदार्थ र एक दर्जन हर्लिक्स पनि जफत गरी नष्ट गरिएको नगरपालिकाले जानकारी दिएको छ । धादिङबेसीमा सञ्चालित मासु पसलहरुमा सरसफाई नभएको, मासु काट्ने स्थान फोहोर भएको, खसि, कुखुरा र माछा लगायतमा मासुहरु एउटै फ्रिजमा राखीएको र पसल नवीकरण नगरिएको लगायतका समस्याहरु देखिएका छन् । यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ज कमेरेमा रहेको बधशालाको पनि अनुगमन गरीएको छ । उक्त बधशालामा सरसफाई नभएको, स्टोर गरेर राख्ने स्थान फोहोर भएको, पशु बध गर्नु पुर्व स्वास्थ्य परीक्षण नगरिएको जस्ता कमजोरीहरु रहेको छ ।
उक्त बधशालालाई पनि एक हप्ता भित्र सुधार गर्नको लागि निर्देशन दिईएको छ । अनुगमनको क्रममा पहिलो पटक चेतावनी दिएको र अर्को पटकदेखि यस्तै पाए कारबाही गर्ने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
बजार अनुगमनमा नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, पशु चिकित्सक डा. सुनिता श्रेष्ठ वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सभापति राजाराम शर्मा, जिल्ला प्रशासन कार्यालयका श्याम बहादुर रायमाझी, घरेलु तथा साना उद्योग कार्यालयका राजेन्द्र कोईराला, धादिङ चेम्बर अफ कमर्शका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका नारायण कुमार श्रेष्ठ, उपभोक्ता हित संरक्षण मन्च नेपालका शिवराज सापकोटा लगायतको सहभागिता रहेको थियो ।
यो अनुगमन सचेत गराउनका लागि गरिएको र अबदेखि महिनाको दुई दिन छुट्याएर बजार अनुगमनलाई तिव्रता दिने नगर उप प्रमुख दिपक विश्वकर्माले बताउनु भएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भन्दै उहाँले मापदण्ड पुर्याएर मात्र व्यावसाथ सन्चालन गर्नको लागि आग्रह गर्नुभयो । सामान खरिद गर्दा उपभोक्ताहरु सचेत भए अहिलेको समस्याहरु विस्तारै हट्दै जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस