वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्नेलाई एक लाख जरिवानाको व्यवस्था गरेको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागले सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको हुँदा त्यसो गर्नेलाई कानून बमोजिम एकलाख जरिवाना गराउने भएको हो । तिहारका लागि प्लास्टिकका फूल तथा मालाको आयात उच्च हुने भएकोले त्यसलाई रोक्ने उद्देश्यले विभागले यस्तो आग्रह गरेको हो ।
“सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी मिति २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको विषय सर्वविदितै छ,” विभागले आज जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।
“नजिकिँदो तिहार र छठजस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न पनि विभागले आग्रह गरेको छ । सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजार रुपैयाँदेखि २० हजारसम्म जरिबाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरिवाना हुने चतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस