धदिङ ३१ असोज
६७ औँ प्रहरी दिवस धादिङमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सोमबार एक समारोहको आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्य रहेको समारोहमा विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, प्रहरी अधिकृतहरु, पत्रकार, पूर्व प्रहरी, अमर प्रहरीका परिवारजन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले सत्य सेवा सुरक्षणम्को नारालाई नेपाल प्रहरीले सार्थकता दिएको बताउँदै स्थानीय तहको निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको र धादिङबासीले धन्यवाद ज्ञापन गरेको स्मरण गर्दै लम्सालले निष्पक्ष र भयरहित वातावरणमा नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गराउन उल्लेखनीय भूमिका खेल्न आग्रह गर्नुभयो ।
यस्तै धादिङ प्रहरी प्रमुख प्रहरी निरिक्षक राकेश सिं ले नेपाल प्रहरीलाई प्रविधिमैत्री र आधुनिकीकरण गर्दै लानु आवश्यक रहेको बताउँदै नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो ।
वि.सं. २०१२ सालमा करिब ७ हजार ५ सयको फोर्ससहित स्थापना भएको नेपाल प्रहरी हाल देशभर करिब ८० हजारको संख्यामा रहेका छन् । धादिङमा ४२ युनिटमा ५ सय ३० जना प्रहरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस