धादिङ ३० असोज
धादिङका सत्ता साझेँदार दलहरुले चुनावी प्रचार अभियानलाई तिब्रता दिएका छन् । सोही क्रममा आइतबार धादिङबेसीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गठबन्धनका उम्मेद्वारहरुले आफ्नो चुनावी एजेन्डा र रणनीतिका बारेमा धारणा राखेका हुन् ।
गएको ५ वर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, यातायात भौतिक पूर्वाधारको क्षेत्रमा थुप्रै प्रगति भएको र केही महत्त्वपूर्ण गौरवका योजनाहरु सुरु गरेको बताउँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं धादिङ संघीय निर्वाचन क्षेत्र नं. १ ख का उम्मेद्वार सालिकराम जम्कट्टेलले सुरु गरिएका योजनालाई पूर्णता दिन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न आफू र सत्ता गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेस धादिङका सभापति एवं संघीय निर्वाचन क्षेत्र नं. २ धादिङका उम्मेद्वार रामनाथ अधिकारीले ठाउँ अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारको विकासमा जोड दिदै युवाहरुमा देखिएको बढ्दो वैदेशिक पलायनलाई रोक्नका लागि मूख्य पहल आफ्नो रहने प्रतिबद्धता जनाउनु भयो । फरक प्रसंगमा अधिकारीले सत्ता गठबन्धनको निर्णय विपरित पार्टीका नेताहरुले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन उम्मेद्वारहरु तयार भएको र आज भोलि नै घोषणा हुने बताउनु भयो ।
बत्तीमुनिको अध्यारोको रुपमा रहेको उत्तरी धादिङको मुहार फेर्न गएको कार्यकालमा महत्त्वपूर्ण भुमिका खेलेको र जनताले महसुस गरेकाले आफू पुनः निर्वाचित हुनेमा ढुक्क रहेको संघीय निर्वाचन क्षेत्र नं.२ ख का उम्मेद्वार माओवादी नेता जगत सिंखडाले बताउनुभयो । सिखंडाले आफू जनताको भरिया भएको र पुनः त्यो भारि बोक्न तयार रहेको बताउनुभयो ।
संघीय निर्वाचन क्षेत्र नं.२ क बाट उम्मेद्वारी दिनुभएका कांग्रेसका गोविन्द लम्सालले जनताले दैनिक भोगिरहेका समस्याहरु र सरकारी कार्यालयहरुमा हुने बेथितिका साथै धादिङबेसी बजार व्यवस्थापनमा आफ्नो महत्त्वपूर्ण ध्यान जाने बताउनुभयो । प्रेस सेन्टर नेपाल, प्रेस युनियन र समाजवादी प्रेस संगठन धादिङले उक्त कार्यक्रमको समन्वय तथा सहजीकरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस