धादिङ श्रावण २५
धादिङबेसी नजिकै रहेको अल्छी डाँडामाअन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणको प्रकृया अगाडि बढेको नीलकण्ठ नगरपालिका धादिङका उप मेयर मनराज भण्डारीले बताउनु भएको छ । शनिबार धादिङबेसीस्थित कभर्डहलमा सितोरियो कराते खेलाडी स्व. सुजन थापाको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले प्रदेश सरकार सामाजिक विकास मन्त्री युवराज दुलालले उक्त रङ्गशालाको स्थलगत भ्रमण गरी रु. १ करोड यही आर्थिक वर्षमा विनियोजन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिका पूर्ण प्रतिबद्ध रहेको समेत बताउनु भयो ।
धादिङबेसी सितोरियो कराते डोजोका प्रशिक्षक भिम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता, वडा नं. ३ का वडा अध्यक्ष होम नाथ रिजालको विशेष आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा यही जेष्ठ ३१ गते भएको उपत्यकाव्यापी किक बक्सिङ प्रतियोगिताका मेडलिस्टहरुलाई खेलकुद सामग्री समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस