धादिङ २६ असोज
नेकपा एमाले धादिङका नेता धनबहादुर घलले पार्टी परित्याग गरेका छन् । आसन्न निर्वाचनमा प्रदेश सभा सदस्य पदमा पार्टीले टिकट दिएर अन्तिम अवस्थामा आफूलाई जानकारी नदिइ उम्मेद्वारी खारेज गरेको भन्दै घलले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा सार्वजनिक गरेका घलेले जिल्ला इन्चार्ज खेम लोहनीले निर्वाचन कार्यालयसँग सेटिङ गरेर आफ्नो उम्मेद्वारी खारेज गराएको आरोप लगाएका छन् । आफू ०४६ सालदेखि निरन्तर ३३ वर्ष पार्टी राजनीतिमा सक्रिय भएर काम गरेको बताउदै घलेले धादिङको जिल्ला उपाध्यक्षको जिम्मेवारी र एमाले भातृ संगठन आदिवासी जनजाती महासंघको केन्द्रीय सचिवालय सदस्य पदबाट राजिनामा दिएर स्वतन्त्र रहेको घोषणा गरेका छन् ।
एमालेले राप्रपासँग तालमेल गर्दै धादिङ संघीय निर्वाचन क्षेत्र नं. २ ख मा राप्रपा उम्मेद्वार डम्बर तामाङलाई सघाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस