धादिङ ०९ असोज
म्यादी प्रहरीका लागि धादिङमा दुई हजार ६०९ जनाले आवेदन दिएका छन् ।
भदौ ३० गतेदेखी असोज ६ गते आठ दिनको अवधीमा १ हजार ७१७ पुरुष र ८९२ महिला गरी जम्मा दुई हजार ६०९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ४१५ म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा छनोट भएका ९ सयजनाले अहिले पनि आवेदन दिएका छन् । धादिङको लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको कोटा भने नखुलाएको तर १५ सय देखी १७ सयको हाराहारी छनोट गरिने (डिएसपी) श्याम बहादुर खत्रिले बताउनुभयो ।
म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा आज (आइतबार ) देखि सुरु भएको छ । परीक्षा धादिङबेशी स्थित खुल्ला चौरमा हुने छ । पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ ।
शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्ता लगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनौट गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) खत्रिले बताउनुभएको छ ।
म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया दिनुहोस