धादिङ ०८ असोज
धादिङबेसी बजार व्यवस्थापनका लागि शनिबार सरोकारवालाहरुबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ३ को आयोजनामा भएको छलफल कार्यक्रममा टोलसुधार समिति, उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघ लगायत बजार व्यवस्थापनका क्षेत्रमा सरोकार राख्ने स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा धादिङबेसीमा अव्यवस्थित बन्दै गएको बसपार्क व्यवस्थापन, सार्वजनिक सौचालय निर्माण, मोटरसाइकल ग्यारेजहरुको व्यवस्थापन, कवाडी गोदाम व्यवस्थापन, बजार क्षेत्रमा रहेका घरका पाली तथा भ¥याङहरुको व्यवस्थापन र चाडपर्व लक्षित तथा अन्य समयमा शान्ति सुरक्षा कायम लगायतका विषयमा छलफल भएको थियो ।
छलफल कार्यक्रममा उठेका विषयवस्तुहरुलाई सम्बोधन गर्दै नीलकण्डठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले स्थानीयको सहयोग रहेमा तत्काल बसपार्क व्यवस्थापनका लागि बजेट विनियोजन गरी कार्य अघि बढाइने बताउनु भयो । यस्तै मेयर ढुङ्गानाले बजार क्षेत्र धुलो र धुवा रहित बनाउनका निमित्त सबैको साथ रहनुपर्ने र आर्थिक व्यवस्थापन नगरपालिकाले गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
हाल बजारक्षेत्रमा व्यवस्थित बसपार्क नहुदा ट्राफिक जाम र दुर्घटनाका समस्याहरु बढिरहेका छन् । कार्यक्रमका सहभागीहरुले सबैको साझा ऐकेबद्धताका साथ धादिङबेसी बजार क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका थिए । वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर भिम प्रसाद ढुङ्गाना र विशेष अतिथिमा उपमेयर दिपक विश्वकर्मा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस