धादिङ ०७ असोज
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा धादिङका सत्तारूढ दलका युवा संगठनहरुले संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालमार्फत राष्ट्रपतिको कार्यालयलाई ज्ञापनपत्र बुझाइएको हो । नेपाल तरूण दल, योङ कम्युनिष्ट लिग र युवा संघ नेपाल, धादिङले संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिपतिको गैरसंवैधानिक कदमबाट जनाताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको बताइएको छ ।
संसदको दुवै सदनबाट पारित नागरिकत विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नेपालीहरू नागरिकता प्रमाणपत्र पाउने संवैधानिक हकबाट बञ्चित भएको र संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थााका आधारभूत मान्यतामा गम्भीर प्रहार भएको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को पूर्ण पालना र संरक्षण गर्न माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस