धादिङ ०५ असोज
धादिङमा डेङ्गुबाट संक्रमितको सङ्ख्या ३७४ पुगेको छ ।
गत साउन १ देखी आज (असोज ५ गते) सम्मको विवरण अनुसार जिल्लाका २१० जना पुरुष र १६३ महिला गरी कुल ३७४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
परिक्षण गरिएका मध्ये धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा १९८, गजुरीमा ४० र त्रिपुरासुन्दरीमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गल्छीका १३, ज्वालामुखीका ६, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, धुनिबेशीका ३, सिद्धलेक, गंगाजमुना र रुवीभ्याली १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म खनियाबास र थाक्रेमा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ७६ जनाको ठेगाना खुलेको छैन । असोज ४ गते मंगलबार मात्रै धादिङ अस्पतालमा उपचार सेवा लिन आएका २२ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।
संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन धादिङ अस्पतालले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस