बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकरिया जातिलाई २५० वटा घर निर्माण गर्ने भएको छ । २४ घरधुरी रहेको वनकरिया समुदायका लागि २४ वटै घर निर्माण गरिनेछ भने बोटे जातिका लागि ५० घर र चेपाङ जातिका लागि १ सय ७६ घर निर्माण गरिने भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले जानकारी दिए ।
‘एउटा घर निर्माणका लागि ४ लाख रुपैयाँ उपलब्ध गराइने छ’, उनले भने– ‘जसका लागि संघीय सरकारको ५ करोड र बागमती प्रदेश सरकारले ५ करोड गरि १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।’
सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक मूल्य मान्यता सुहाउँदो किसिमको आवासको डिजाइन मन्त्रालयले नै उपलब्ध गराउने उनले बताए । प्रदेश मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले आवासीय भवन निर्माण गर्नेछन् ।पहिरो वा सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, ऐलानी जग्गामा घर भएकाहरुलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने राज्यमन्त्री प्रजाले बताए ।
जग्गा नभएकालाई जग्गा उपलब्ध गराएर एकीकृत बस्ती निर्माण गरिनेछ भने जग्गा भएका तर आवासको समस्या भएकाहरुलाई सम्बन्धितको जग्गा भएकै ठाउँमा घर निर्माण गरिने उनको भनाइ छ । एकीकृत बस्ती निर्माण गरिएको स्थानका लागि आवश्यक पर्ने पूर्वाधारहरु सडक, बिजुली, खानेपानी, ढल, खुल्ला क्षेत्र लगायतको निर्माण कार्य प्रदेश सरकारलेनै गर्ने उनले बताए ।
आगामी वर्षको कार्यक्रममा गरिव, विपन्न, सिमान्तकृत तथा लोपोन्मुख थप जात–जातिका लागि घर बनाउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । यसका लागि चेपाङ, वनकरिया, माझी, थामी, मुसहर, बोटे र हायू एकीकृत बस्त ितथा आवास निर्माण सम्बन्धी कार्यविधि २०७९ तयार पारिएको उनले जानकारी दिए । प्रदेश सरकारले निर्माण पछि हस्तान्तरण गरिएको घर १० वर्षसम्म बेच्न पाइने छैन ।
नेपाल सरकारले चेपाङ र बोटे जातिलाई अति सिमान्तकृत र वनकरियालाई लोपोन्मुख जातिका रुपमा सूचीकृत गरेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९, वनकरिया ६९ र बोटे १० हजार ३ सय ९७ छ ।
प्रतिक्रिया दिनुहोस