धादिङ ३० भाद्र
हाल नेपालमा डेँगु संक्रमण तिव्र रुपमा बृद्धि भईरहेको छ । धादिङ जिल्लामा पनि डेँगु संक्रमितको संख्या २ सय ५४ जना पुगेको छ । स्वास्थ्य कार्यालय धादिङले बिहिबार विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्ष २०७९ को भाद्र २९ गतेसम्म जिल्लामा २ सय ५४ जनामा डेँगु पुष्टि भएको बताएको छ ।
डेँगु संक्रमण तिव्र रुपमा फैलिएको भन्दै सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।
डेँगु रोगको नियन्त्रण तथा रोकथामको लागि सरकारको निर्णय अनुसार “राष्ट्रिय अभियान” संचालन गर्न सबै नागरिक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविका, पत्रकार एंव सबै सरकारी, गैर सरकारी तथा निजी संस्था तथा निकायहरुलाई कार्यालयले अनुरोध गरेको छ ।
डेंगु रोकथाप तथा नियन्त्रणको लागि प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घर तथा कार्यालय भित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ भन्ने नारा सहित राष्ट्रिय अभियान संचालन गर्न तथा सचेतना अपनाउन पनि स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।
डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।
प्रतिक्रिया दिनुहोस