धादिङ २९ भाद्र
सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गाउँकार्यपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिकाले प्राप्त गरेको प्रगति विवरण पेस गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा पालिकाबाट भएका विकासका कामहरुमा ३० वटा टेण्डर मार्फत र ३ सय ७१ वटा उपभोक्ता समितिमार्फत काम सम्पन्न गरिएको हो ।
पालिकाले गत आर्थिक वर्षमा मिनिट्रेलर, डिजिटल काटा, कम्बाईन्ड राईस मिल, मौरी घार लगायतका औजार उपकरणहरु ५० प्रतिशत सहुलियत अनुदानमा व्यवसायिक कृषकहरुलार्य प्रदान गरिएको थियो । प्रगति विवरणमा गाउँपालिकाभित्र आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिएको, ५ शैयाको अस्पताल भवन निर्माण भैरहेको जानकारी दिदै कोरोना खोप लगाउने संख्याको आधारमा धादिङ जिल्लाकै दोस्रो गाउँपालिका रहेको स्वास्थ्य शाखा प्रमुख चेतनाथ भट्टले बताउनुभयो ।
त्यस्तै, कृषि क्षेत्रमा सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट रहेको र पालिकाभरी खेतियोग्यो जमिन २३८५.९५ हेक्टर रहेको बताईएको छ । हाल पालिकामा घटना दर्ता अभियान अनलाईन मार्फत सञ्चालन गरिएको र सामाजिक सुरक्षा भत्ता बैंकबाट भुक्तानी गर्दै आएको पालिकाले बताएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राममणि मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका उपाध्यक्ष सबिता अर्याल र गाउँपालिकाका निर्वतमान अध्यक्ष पे्रमनाथ सिलवालको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस