धादिङ २७ भाद्र
धादिङको निलकण्ठ वडा नं १४ का वडा अध्यक्ष नमराज दुवाडीले आफू निर्वाचित भएको सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । आइतबार वडा समितिको बैठकमा अध्यक्ष दुवाडीले जेष्ठ, आषाढ, श्रावण र भाद्रको छुट्टा छुट्टै कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
अध्यक्ष दुवाडीले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा जनसमुदाय, सरोकारवाला र स्थानीय राजनैतिक दलका प्रतीनिधिसँग परामर्श गरी बजेट विनियोजन गरिएको बताउदै जेष्ठ नागरिकहरुको घरदैलो गरी स्वास्थ्य परीक्षण गरिएको, स्वास्थ्य चौकीको भवन निर्माणका लागी १ रोपनी जग्गा खरिद गरिएको, वडामा टोल फ्री नम्बरको व्यवस्था गरी सेवालाई छिटो छरितो बनाउने प्रयास गरिएको,सुझाव पेटिका र सूचनापाटीलाई व्यवस्थित गरिएको, वडाको प्रशासनिक कार्य, घटना दर्ता, मालपोत जस्ता राजस्वहरुलाई अनलाइन प्रबिधिबाट गरिने व्यवस्था गरिएको, वडाभित्र पर्न आएको विपदमा जनप्रतिनिधिहरुको उपस्थितिमा अनुगमन र राहत उपलब्ध गराईएको लगायतका उपलब्धीहरु सार्वजनिक गरिएका छन् ।
त्यस्तै, प्राविधिक शिक्षा अध्ययन गर्ने २ जना विद्यार्थीलाई छात्रावृत्ति दिने व्यवस्था पनि वडाले गरेको छ । दुवाडी नेकपा(माओवादी केन्द्र)बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस