धादिङ श्रावण १९
त्रिपुरा सुन्दरी गाउँ पालिका धादिङ सबै नागरिकको पहुचमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने पहिलो स्थानीय तह बनेको छ । आइतबार गाउँ पालिकाको वडा नं. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएसँगै पालिकाको सातै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुच पुगेको हो । वडा नं. १ का वडा अध्यक्ष भोज बहादुर रिजालको अध्यक्षतामा सम्पन्न आधारभूत स्वास्थ्य सेवा सञ्चालन कार्यक्रमको उद्घाटन त्रिपुरा सुन्दरी गाउँ पालिकाका अध्यक्ष सम्भू कुमार थापाले गर्नुभएको हो । गाउँ पालिकाकी उपाध्यक्ष देवी कुमारी बुर्लाकोटी र प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदीको विशेष उपस्थिति रहेको कार्यक्रममा गाउँ पालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठ, पालिकाभित्रका जनप्रतिनिधिहरु, स्थानीय अगुवा समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाल सरकारको देशैभरका स्थानीय तहका प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने नीति अनुरुप सञ्चालन भएको स्वास्थ्य सेवा केन्द्रले आम नागरिकलाई आधारभूत तहको स्वास्थ्य सेवा प्रदान गर्ने छ । स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा त्रिपुरा सुन्दरी गाउँ पालिका निकै नै अगाडि रहेको बताउदै गाउँ पालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुचमा पु¥याउने उद्देश्यका साथ अगाडि बढेकाले अब त्यो उद्देश्य पुरा भइसकेको बताउँदै आगामी वर्षहरुमा यसलाई गुणस्तरीय र विश्वसनीय बनाउने लक्ष्य रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस