धादिङ २२ भाद्र
नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगर कमिटीले स्थानीय तहमा संसदीय अभ्यास गरेको छ । पार्टी केन्द्रको नीति अनुसार स्थानीय तहमा पनि संसदीय अभ्यास सुरु गरिएको हो । मङ्गलबार नीलकण्ठ नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरुको भेलाबाट नगर उप प्रमुख दिपक विश्वकर्मा दल नेता रहने गरी स्थानीय तह दल घोषणा गरिएको हो ।
स्थानीय तह दलको नेतामा नगर उपप्रमुख दिपक विश्वकर्मा, उप नेतामा वडा नं. ५ का अध्यक्ष रा कुमार श्रेष्ठ, प्रमुख सचेतकमा कार्यपालिका सदस्य लक्ष्मण रम्तेल र सचेतकमा वडा सदस्य कमला तामाङ रहनुभएको छ । पार्टीको तर्फबाट स्थानीय सरकारमा जनताका माग राख्न र सम्बोधन गर्नका लागि स्थानीय तह दल गठन गरिएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीले धादिङको १३ वटै स्थानीय तहमा दल घोषणा गर्ने र पार्टीको तर्फबाट जनताका माग स्थानीय सरकारसम्म मजबुत ढङ्गले पु¥याउने योजना रहेको बताउनु भयो ।
दल नेता दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको भेलामा पार्टी केन्द्रीय सदस्य अप्सरा सिंखडा, जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगर कमिटी अध्यक्ष सम्भू श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
माओवादी केन्द्र धुनिबेसी नगरपालिकाले यसअघि नै वडा नं. ६ का अध्यक्ष रमेश आचार्य दल नेता रहने गरी स्थानीय तह दल घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस