धादिङ १५ भाद्र
जनयुद्धका सहिद इन्द्र बहादुर थपलिया(चट्टान)को २० औँ स्मृति सभा सम्पन्न भएको छ । साविक धादिङको धुषा गाविस वडा नं. २ चाँपटारका थपलियाको सोही स्थानमा स्मृति सभा सम्पन्न गरिएको हो । २०५९ साल भाद्र १५ गते आजैका दिन पार्टी कामको शिलशिलामा जाँदै गर्दा भुमेस्थान खोस्टे खोला बिमिरेमा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
नेकपा(माओवादी केन्द्र) बेनिघाट रोराङ गाउँपालिका वडा नं. ७ पार्टी कमिटीको आयोजनामा भएको २० औँ स्मृति सभामा वडा पार्टी कमिटी अध्यक्ष पवन कुमार थपलियाको अध्यक्षता एवं सहिद चट्टानका छोरा एवं बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)को प्रमुख आतिथ्य रहेको थियो ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थपलियाले आफू सहिद परिवार र जनयुद्धको सिपाही भएकाले जनयुद्ध र सहिदले देखाएको बाटोलाई अनुशरण गर्दै जाने बताउनु भयो । यस्तै गाउँपालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार पहिलो आवश्यकता भएकाले आफू त्यसमै केन्द्रित रहेको समेत बताउनु भयो ।
गाउँपालिकाभित्रका चेपाङ बालबालिकाहरुमा देखिएको कुपोषण न्यूनीकरणका लागि विशेष योजना बनाउने प्रतिबद्धता समेत अध्यक्ष थपलियाले गर्नुभयो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का जिल्ला स्तरीय नेता तथा स्थानीय कार्यकर्ताका साथै जनसमुदायहरुको उपस्थिति रहेको थियो ।
जनयुद्धको क्रममा सहिद इन्द्र बहादुर थपलियाको परिवारबाट उनी र २ छोरा सहित ३ जना सहिद भएका छन् । यस्तै भदौ १५ गतेकै दिन धादिङको भुमेस्थान निवासी विन्दा सुवेदी र कमल ढकाललाई पनि तात्कालीन साहि नेपाली सेनाले हत्या गरेको थियो ।
प्रतिक्रिया दिनुहोस