धादिङ १७ श्रावण
३ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जिल्ला अस्पताल र स्वास्थ्य कार्यलय धादिङको शुक्रबार छड्के निरिक्षण गरेका छन् । मन्त्री दुलालले अस्पताल र स्वास्थ्यक कार्यालय धादिङका दैनिक सेवा प्रवाहको अवस्था र कर्मचारीहरुको उपस्थितिको विषयमा छड्के अनुगमन गरेका हुन् । छड्के अनुगमनकै क्रममा जिल्ला अस्पताल धादिङमा ५ जना र स्वास्थ्य कार्यलयमा २ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ । अस्पताल र स्वास्थ्य कार्यालयको विभिन्न वार्ड तथा विभागहरुमा पुगेर अनुगमन गरेका मन्त्री दुलालले अस्पतालको सरसफाइमा विशेष ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
देशका ७७ वटै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मातहतमा रहेको छ । अनुगमनपछिको अन्तरक्रियामा मन्त्री दुलालले प्रदेश सरकार र संघीय सरकारले पठाएको बजेट खर्चको योजना अस्पताल विकास समितिसँग माग गर्नु भएको छ । अन्तरक्रियाको क्रममा जिल्ला अस्पताल धादिङको दैनिक कार्यसम्पादन, कर्मचारीहरुको अवस्था र दैनिक सेवा प्रवाह तथा समस्याहरुका बारेमा अस्पताल विकास समितिधा अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेन्डेन्ट दिपा बोहोराले जानकारी गराएका थिए भने स्वास्थ्य कार्यालयको पछिल्लो अवस्थाका बारेमा स्वास्थ्य कार्यलय धादिङका निमित्त प्रमुख विष्णु रिजालले जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस