धादिङ ०३ भाद्र
उद्वव चेपाङ
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर २ को चोतसमा आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा आएको छ । आधारभुत स्वास्थ्य सेवाबाट समेत वन्चित रहेका दुर्गम वस्तिहरु होवाङ, पार्लाक, चोतेस, भाँजा, ब्रुस्वाङ र दुलदानीका समुदायलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य इकाइ उद्घाटनको अवसरमा घुम्ती स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । वेनिघाट रोराङ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष हेमराज भुजेलको अध्यक्षतामा भएको स्वाथ्य इकाई उद्घाटन एवं घुम्ती स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष विवेक थपलियाको प्रमुख आतिथ्य रहेको थियो । यसै गरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, भिष्म कुमार मल्ल, गाउँपालिका स्वास्थ्य शाखाका संयोजक शंकर बाबु दुवाडी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १ सय २५ जनाको सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै ३५ जनाको सुगर परीक्षण, ७ जनाको ग्रामीण भिडियो एक्स रे र ५० जना ५ वर्ष मुनिका बालािलकाको पोषण अवस्था लेखाजोखा गरिएको थियो । ५० जना बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा १० जना मध्यम कुपोषणमा र ५ जना शिघ्र कुपोषणमा परेको पहिचान भएको थियो । गाउँ नजिकै स्वास्थ्य संस्था आएपछि स्थानीय समुदाय हर्षित भएका छन् । सामान्य विरामी हुँदासमेत ४ घण्टाको पैदल यात्रा गरी महादेवस्थान स्वास्थ्य चौकी उपचार गर्न आउनुपर्ने ब्रुस्वाङका चेपाङ समुदायको वाध्यता हटेको छ ।
गाउँमा आधारभूत स्वास्थ्य सेवा समेत नहुँदा सामान्य औषधि लिन समेत ४ घण्टाको बाटो धाएर जानुपर्ने बाध्यता थियो । वर्षातको समयमा विरामी परिहाले खोलाको बाटो हिँड्नुपर्ने भएकोले, खोलाले वगाउने हो कि ? पहिरोले पुरिने हो कि भन्ने डरैडरमा स्वास्थ्यचौकी जाुनपर्ने वाध्यता थियो अव त गाउँमै स्वास्थ्य सेवा पाउने भयौँ खुशीको सिमा नै छैन ब्रुस्वाङका सोमिलाल चेपाङले भन्नुभयो ।
गर्भजाँच गराउन जसो तसो स्वास्थ्य संस्थामा जाने गरेको भए पनि संस्थागत सुत्केरी गराउन जानलाई समस्या थियो । घरमै सुत्केरी भएको भए पनि सुत्केरी भएकै दिन गाउँमा स्वास्थ्यकर्मी आएपछि चोतेसका १९ बर्षीय कल्पना चेपाङले सुत्केरी जाँच गराउनुभयो । सुत्केरी जाँच गाराउदा आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस