धादिङ २७ श्रावण
आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिकाबारे धादिङबेसीमा अन्तरक्रिया गरिएको छ । २८ औं विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० जिल्ला शाखा धादिङले सरोकारवाला निकाय र पत्रकारबीच अन्तरक्रिया गराएको हो ।
पछिल्लो समय आधुनिकताको नाममा वा बाह्य संस्कृतिका कारण नेपालको आदिवासी जनजातिको संस्कृतिमा विचलन आएको अन्तरक्रियामा सहभागीहरुले औल्याएका छन् । आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाली श्रोत साधनका मालिक भनेको आदिवासी जनजाति हुन् भन्ने कुराको पहिचान गराउन स्थानीय सरकारले पहल गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताए । विकटमा बसोबास गर्ने जनजातिका भाषा, सस्कृति र परम्पराको जगेर्ना गर्दै शिक्षामा जोड दिएर सीप र आयआर्जनसँग जोड्न सके आदिवासीको पहिचान स्थापित हुनेमा विश्वकर्माले जोड दिए ।
नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता एवं् वडा नं। १ का वडा अध्यक्ष ठाकुर गुरुङले आदिवासी जनजातिहरुको जातीय सवाललाई माथी उठाउन सहयोग गरिदिन स्थानीय सरकारहरुसँग माग गरे । फोनिज र फोनिजमा आवद्ध पत्रकारहरुलाई आफुले सक्दो सहयोग गर्ने पनि गुरुङले बताए ।
फोनिज संघीय समितिका सदस्य उद्धव चेपाङले आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचानले सिंगो देशलाई नै चिनाइरहेको बताए । संरक्षण सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
कार्यक्रममा सहभागी जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार संघ संगठनका प्रमुखहरुले पनि आदिवासी जनजातिको सवाल सरकारको प्राथमिकतामा नपरेको बताएका थिए ।
त्यस्तै, ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत हुनुभएको छ । फोनिज धादिङले यस वर्षबाट स्थापना गरेको ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ प्रदान गर्न थालेको हो । फोनिजको स्थापना दिवसको अवसरमा फोनिज धादिङले श्रेष्ठलाई नगद र सम्मान पत्रसहित उपप्रमुख विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको हो ।
यसैगरि फोनिजले धादिङले फोनिज धादिङका संस्थापक अध्यक्ष ठाकुर गुरुङलाई सम्मान गरेको छ । जिल्लामा फोनिज स्थापना गरि जनजाती पत्रकारहरु संगठीत गराउन खेलेको महत्वपूर्ण भुमिकाको सम्मान गर्दै सम्मान गरिएको हो ।
दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघलाई पनि फोनिज धादिङले सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस