धादिङ २३ श्रावण
धादिङ जिल्लाकै पहिलो सामुदायिक क्याम्पसको रुपमा संचालित नीलकण्ठ बहुमुखी क्याम्पस र भारतको तीन क्याम्पसवीच शैक्षिक गतिविधि आदान प्रदान गर्ने सम्झौता भएको छ । सोमबार धादिङवेशीमा विशेष समारोहको आयोजना गरि दुइ पक्षीय सम्झौता गरिएको हो ।
भारतको तेलङ्गाना राज्य स्थित हैदरावादमा संचालित स्टान्ली कजेफ अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी फर वुमन, सेन्ट जोसेफ डिग्री एण्ड पिजि कलेज र एरिस्टोटल पिजि कलेजसंग शैक्षिक गतिविधि आदान प्रदान गर्ने उद्येश्यले दुइपक्षीय सम्झौता गरिएको नीलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।
स्टान्ली कजेफ अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी फर वुमन को तर्फबाट प्राध्यापक डाक्टर पद्मा यालाप्रगडाले दुइपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । त्यस्तै सेन्ट जोसेफ डिग्री एण्ड पिजि कलेज र एरिस्टोटल पिजि कलेजको तर्फबाट हैदरावादको ओस्मानिया युनिभर्सीटीका पुर्व डीन प्राध्यापक डाक्टर सुर्यनाराण अलामरीले हस्ताक्षर गर्नुभएको छ । तीन वटै सम्झौतामा नीलकंण्ठ बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख नवराज शर्माले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा वोल्दै प्राध्यापक डाक्टर सुर्यनारायणले नेपालको सामुदायिक कलेजहरुको लागि यो सुनौलो अवसर भएको र यसले यहाँको शैक्षिक विकासको लागि ठुलो अर्थ राख्ने बताउनुभयो । सम्झौता भएर मात्रै उपलब्धी नहुने भएकाले तत्काल उक्त सम्झौता कार्यन्वयन स्वरुप भारतका क्याम्पसहरुको स्थलगत भ्रमण गर्नको लागि सुर्यनारायणले नीलकण्ठ क्याम्पसलाइ निमन्त्रणा समेत गर्नुभयो ।
यस सम्झौताले यहाँका विद्यार्थी तथा शिक्षकहरु भारतको उक्त क्याम्पसहरुमा गएर त्यहाँको शिक्षण सिकाइ विधिको ज्ञान लिन सक्ने, त्यहाँका राम्रा अभ्यासहरु सिक्न पाउने, अनुसन्धानका कामहरुमा सहकार्यको अवसर पाउने, विद्यार्थी तथा शिक्षकहरुले अन्तराष्ट्रिय शैक्षिक सेमिनारहरुमा सहभागिता जनाउन पाउने, आफ्नो प्रस्तुती गर्न पाउने एउटा माध्ययमको रुपमा सहयोग पु¥याउने नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्माले बताउनुभयो ।
सम्झौता हस्ताक्षर समारोहमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदका सदस्य समेत रहनुभएका प्राध्यापक डाक्टर महानन्द चालिसेको पनि सहभागिता रहेको थियो । सीमापारका क्याम्पसहरुसंगको यस्ता सम्वन्धले क्याम्पसको शैक्षिक विकास र शिक्षण सिकाइ क्रियाकलापमा ठुलो सहयोग पुग्ने प्राध्यापक डाक्टर चालिसेले बताउनुभयो । सामुदायिक क्याम्पसहरुको लागि यस्तो अवसर विरलै मिल्ने र त्यो अवसर नीलकण्ठ क्याम्पसले पाएकोप्रति चालिसेले बधाइ दिदै यो सुनौलो अवसरलाइ सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै पुर्व क्याम्पस प्रमुख एवं नीलकण्ठ बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष शम्भु कुमार श्रेष्ठले भारतका प्रतिष्ठित क्याम्पसहरुसंग शैक्षिक गतिविधि आदानप्रदान गर्नको लागि अवसर पाउनु नीलकण्ठ क्याम्पसको लागि गौरवको विषय भएको बताउनुभयो । यस सम्झौताले समुदाय स्तरबाट संचालित क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिको लागि अर्को एउटा इट्टा थप्ने पनि विश्वास ब्यक्त गर्नुभयो ।
समारोहमा नीलकण्ठ क्याम्पस संचालक समितिका पदाधिकारीहरु, क्याम्पसका प्राध्यापकहरु तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस