धादिङ २३ श्रावण
धादिङको नीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा सञ्चालन गर्न लागिएको नीलकण्ठ बहूप्राविधिक शिक्षालयलाई कक्षा सञ्चालनको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले अनुमति दिएको छ ।
परिषदको श्रावण १२ गतेको निर्णय अनुसार भौतिक पूर्वाधारहरु(कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, मानव संसाधन र प्रयोगात्मक अभ्यास) नीलकण्ठ नगरपालिकाले गर्नेगरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ (स्पेसलाईजेसन इन हाइड्रोपावर) र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ कक्षा सञ्चालनको अनुमति दिएको हो ।
डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि ४८ जना र अटोमोबाइल इन्जिनियरिङका लागि २४ जना कोटा निर्धारण गरिएको छ । शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना समेत सुरु भएको छ । नीलकण्ठ नगरपालिका कार्यपालिकाको पहिलो बैठकले उपमेयर दिपक विश्वकर्मालाई बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि जिम्मेवारी दिएको थियो ।
प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ साविकको खानीगाउँ आधारभूत विद्यालयलाई नीलकण्ठ माविमा मर्ज गरेर उक्त विद्यालयलाई आधार बनाइ नीलकण्ठ बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने छ । निकट भविष्यमै फार्मेसीको कक्षा पनि सञ्चालनमा आउने उपमेयर विश्वकर्माले जानकारी दिनुभयो । उक्त शिक्षालयमा सीटीइभिटिकै दरवन्दी संरचना अनुसार कर्मचारी तथा शिक्षकहरु रहनेछन् ।
यो सफलता सम्पूर्ण नीलकण्ठ नगरपालिकाका नागरिकहरु र सिंगो जिल्लाबासीको भएको भन्दै विश्वकर्माले यो उपलब्धीले गौरवान्वित बनाएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस