धादिङ ११ श्रावण
देशैभर उद्यम विकास सहजकर्ताको अभाव भइरहेका बेला मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमी धादिङले उद्यम विकास सहजकर्ताहरुका लागि तालिम आयोजना गर्दै आएको छ । विभिन्न प्राविधिक जनशक्तिहरु तयार गर्दै आएको मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमी धादिङले शनिबार उद्यम विकास सहजकर्ता र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिममा सफल भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । एकेडेमीका अध्यक्ष दिपक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख केदार खड्का, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, समाजसेवी लक्ष्मण रम्तेल, रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले धादिङ जिल्लामा उद्यम विकास सहजकर्ताको अत्यन्तै अभाव भएकामा मिडल्याण्डले त्यसको परिपूर्ति गर्न सहयोग पु¥याएकामा धन्यवाद दिनुभयो । यस्तै घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख केदार खड्काले देशमा सम्बृद्धिको यात्रा अगाडि बढेकाले उद्यमशीलता विषय समय सान्दर्भिक रहेको बताउनु भयो । उद्यम विकास सहजकर्ता तालिममा अरुको व्यवसायमा सहयोग मात्र नभइ आफैँलाई व्यवसायी बनाउन पनि मद्दत गर्ने बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले अरुलाई उद्यमी हुन सिकाउँदै आफू पनि उद्यमतिर लाग्न आग्रह गर्नुभयो ।
एकेडेमीका अध्यक्ष दिपक विश्वकर्माले राष्ट्रको आर्थिक सम्बृद्धिका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले त्यसको सुरुवात मिडल्याण्डले गरेको बताउनु भयो । समाजलाई उद्यमशील, व्यवसायिक र सम्बृद्ध बनाउनको लागि उद्यम विकास सहजकर्ताहरु पहिलो शिक्षक भएको जिकिर गर्नुभयो । कार्यक्रममा उद्यम विकास सहजकर्ता र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका करिब २० प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । साथै रमा कार्की, सङ्गिता गहतराज, प्रकाश तामाङ, पवित्रा बस्याललाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस