धादिङ
धादिङको खनियाबास गाउँपालिका–४ का बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि भएको छ । मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९।९ लेखिएको विस्कुट आकारको पहेलो धातु र ५० रुपैँया र १०० रुपैंयाको डलर नोट परीक्षणको क्रममा नक्कली पुष्टि भएको हो । मंगलबार ग १ ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेसी आउँदै गर्दा बेगे र उनकै गाउँकी शोभा तामाङ पक्राउ परेका थिए ।
१ किलो सुन र नक्कली नोट सहित बेगे पक्राउ परेपछि बुधबार प्रहरीले घर खानतलासी थियो । बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ४ थान प्रहरीले बरामद गरेको थियो । बेगेको घरबाट प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने गोलीहरु पनि पक्राउ गरेको छ ।
सुन ल्याउदै छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक रञ्जन अवाले बताउनुभयो । उहाँका अनुसार घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्को कटुवा पेस्तोल बरामत गरिएको छ । पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबार सन्बन्धी कसुरमा मुद्दा र शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस