धादिङ १६ श्रावण
धादिङ बोर्डिङ स्कूलले सोमबार एक कार्यक्रमका बिच वर्ष २०७८ मा एस.इ.इ परीक्षामा उत्र्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्य तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्य रहेको थियो ।
यस्तै अतिथिहरुमा शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त प्रमुख कष्णकुमार श्रेष्ठ, बार एसोसिएसन धादिङका अध्यक्ष विश्वराज अधिकारी, गणेश हिमाल क्याम्पसका निर्देशक भुपेन्द्र कुमार श्रेष्ठ, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
४३ जना विद्यार्थीहरु एस.इ.इ. परीक्षामा सहभागी भएका थिए । जसमा दिप्ती लम्सालले ३.८० जिपिए ल्याएर विद्यालय प्रथम भएकी छन् । अघिल्ला वर्षहरुको तुलनामा विद्यालयको नतिजा सन्तोषजनक नभए पनि समग्र नतिजा मूल्याङ्कन गर्दा उत्कृष्ठ रहेको विद्यालयका प्रधानाध्यापक ईश्वरी पाण्डेले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. रामकुमार अधिकारीले आफू पनि कुनै समय यसै विद्यालयको अभिभावक भएकाले धादिङ बोर्डिङ स्कूलको शैक्षिक उपलब्धी निकै नै प्रशंसायोग्य रहेको बताउनु भयो । डा. अधिकारीले विद्यार्थीले उच्च शिक्षामा कुन विषय रोज्ने भन्दा पनि आफू त्यो विषयमा अब्बल बनेर देखाउँछु भन्ने प्रणका साथ प्रयत्न गर्नुपर्ने बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले नगरपालिकाले नगरक्षेत्रभित्रका विद्यार्थीहरुलाई प्राविधिक विषय अध्यापन गराउनको लागि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि काम अघि बढाइसकेको बताउनु भयो । उपमेयर विश्वकर्माले विद्यार्थीले जुन विषय अध्ययन गरेता पनि आफू त्यो विषयमा दक्ष र योग्य नागरिक बन्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठले धादिङ जिल्लाको एस.इ.इ नतिजा अन्य जिल्लाको तुलनामा राम्रो रहेको बताउदै विद्यार्थीहरुलाई अहिलेको रिजल्ट कस्तो आयो भन्दा पनि अब कस्तो गर्ने भन्नेतिर सोच्न आग्रह गर्नुभयो ।
कार्यक्रममा धादिङ बोर्डिङमै अध्ययन गरेका नविना र नम्रता श्रेष्ठले पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकाल्न सफल भएकामा बधाई ज्ञापन गरिएको थियो भने स्थानीय निर्वाचन २०७९ मा नीलकण्ठ नगरपालिकाको उपमेयरमा निर्वाचित दिपक विश्वकर्मालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस