काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ ।
दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए ।
उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन । पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस