गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको खानेपानी निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट तीन प्रकारका पानी निर्यात भएको देखिएको छ । जसमा मिनरल्स वाटरको नामबाट २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ । यस्तै, ५३ लाख रुपैयाँको ‘स्नो’ वाटर निर्यात भएको छ भने ३ लाख रुपैयाँको ‘प्रोसेस्ड’ पानी निर्यात भएको छ ।
तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ५३ लाख १२ हजार लिटर पानी निर्यात भएको हो । विश्वका १२ वटा मुलुकमा नेपालबाट पानी निर्यात हुने गरेको छ । तीमध्ये छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ ।
यसैगरी, कतार, फ्रान्स, अस्ट्रेलिया, बेलायत, जापान र चीन लगायतका मुलुकमा समेत नेपालबाट पानी निर्यात भएको छ । कतारमा २५ लाख रुपैयाँभन्दा बढीको पानी निर्यात भएको छ भने अस्ट्रेलियामा १३ लाख र चीनमा ११ लाख रुपैयाँका खानेपानी निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस