धादिङ ०४ श्रावण
करार कर्मचारीहरुको म्याद थप नगरी पुनः कर्मचारी माग गरेको धादिङको रुविभ्याली गाउँपालिकामा कर्मचारी नियुक्ति प्रकृया सुरु भएको छ । बुधबार स्वास्थ्यतर्फका हेल्थ असिस्टेन्टको छनौट प्रकृया सकेर नियुक्ति दिएको गाउँपालिका अध्यक्ष रामसिं तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाले स्वास्थ्यतर्फ हेल्थ असिस्टेन्ट ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३ जना र कार्यालय सहयोगी ६ जनाका लागि आवेदन माग गरेको थियो । सबै कर्मचारीको लिखित परीक्षा सकेर अन्तरवार्ता समेत सकिन लागेको अध्यक्ष तामाङले बताउनु भयो ।
नियुक्ति पाएका कर्मचारीलाई बिहिबारबाटै कार्यक्षेत्रमा पठाइने तामाङको भनाइ छ । कर्मचारी छनौट प्रकृया अत्यन्तै उत्कृष्ठ रहेको परीक्षामा सहभागी परीक्षार्थीहरुले बताएका छन् ।
स्थानीय सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्ने गरेको भन्ने आरोपलाई चिर्न पनि पुराना कर्मचारी हटाएर स्वच्छ परीक्षा प्रणालीमार्फत नयाँ कर्मचारी छनौट गरिएको अध्यक्ष तामाङ बताउनु हुन्छ ।
स्थानीयलाई विशेष प्राथमिकता दिने उद्देश्यले छनौट प्रकृयाको लागि मुल्याङ्कन मापदण्डमा स्थानीयलाई १५ नम्बर, अनुभवलाई १० नम्बर र शैक्षिक योग्यताको श्रेणीलाई ५ नम्बर, अन्तरवार्ता २० नम्बर लिखित १०० पूर्णाङ्क निर्धारण गरिएको हो । हेल्थ असिस्टेन्टमा नाम निकाल्नेमा विममाया तामाङ, तेन्जिङ डोल्मा घले र प्रकाश लामा रहेका छन् ।
उनीहरुलाई तिप्लिङ स्वास्थ्य चौकी, सेतुङ स्वास्थ्य चौकी र लापा स्वास्थ्य विन्दुमा खटाईने अध्यक्ष रामसिंङ तामाङले बताए ।
३ जना हेल्थ असिस्टेन्टका लागि १२ जना, ८ जना अहेवका लागि २७ जना, ९ जना अनमीका लागि १३ जना, ३ जना ल्याव टेक्निसियनका लागि ११ जना र ६ जना कार्यालय सहयोगीका लागि ६७ जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस