धादिङ ३१ असार
पछिल्लो १ महिनाको अवधिमा धादिङमा ४९ जनामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा १ गरी धादिङमा ४९ जनालाई डेंगुको संक्रमण पुष्टि भएकोे हो ।
डेंगु संक्रमितको संख्या बढ्दै गएको भन्दै पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ बेसीमा शुक्रबार आयोजित पत्रकार अन्र्तक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
कार्यक्रममा कोभिड १९ को विद्यमान अवस्था, स्वास्थ्यको वर्तमान अवस्था, खानेपानी शुद्धीकरणका उपायहरु, डेंगु के हो, डेंगु रोग लाग्नुका कारणहरु लगायत धादिङ अस्पतालका सेवा सुविधाहरुको विषयमा अन्र्तक्रिया गरिएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय धादिङका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर प्रसाद घिमिरेले पछिल्लो समय कोरोना र डेंगुका बिरामीहरु बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ । वर्षायाममा पानीका स्रोतहरु प्रदुषण हुने हुदा विभिन्न मौषमजन्य रोग लाग्ने भएकाले थप सर्तकता अपनाउनुपर्ने उहाँको भनाई छ ।
स्वास्थ्य कार्यालय धादिङका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, धादिङ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहाल, नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजाल, स्वास्थ्यकर्मी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस