धादिङ २४ असार
नीलकण्ठ नगरपालिका ३ धादिङ बेसीमा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
अपाङ्ग कल्याण संघ धादिङको आयोजना र नीलकण्ठ नगरपालिकासंगको सहकार्यमा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाभित्र अपाङ्ग भएका ३२ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो भने जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमला, गैर सहकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले अपाङ्ग बालबालिकाहरुले आफू अपाङ्गता भएको भनी हिनताबोध नगर्न र सक्षम व्यक्ति बन्न प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले अपाङ्ग भएका बालबालिकाको लागि नीलकण्ठ नगरपालिकाले हरेक वर्ष बजेट व्यवस्थापन गरेको जानकारी दिदै सुझाव सल्लाहको अपेक्षा गर्नुभयो ।
यस्तै अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले अहिले बन्ने संरचनाहरु अपाङ्गमैत्री भएको भन्दै विद्यालयहरु पनि अपाङ्गमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले नीलकण्ठ नगरपालकिाले अपाङ्ग बालबालिकालाई छुट्याएको बजेट फ्रिज भएर गएको भन्दै नगरपालिकाले प्रदान गर्ने बजेटको बारेमा जानकारी आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस