धादिङ २२ असार
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका केही व्यक्तिमा हैजाको जीवाणु देखिएपछि हैजा फैलने त्रास बढेको छ । हैजा भिब्रिओ कोलेरा नामक ब्याक्टेरियाको कारण लाग्ने रोग हो । हैजाको मुख्य कारण हो, जथाभावी फालिने फोहोर र प्रदुषित पानी ।
हैजाको जीवाणु मानिसको शरीरमा प्रवेश गरेपछि उक्त जीवाणु विकसित हुन १ देखि २ दिन लाग्छ । गर्मी र वर्षातको समयमा हैजाको जोखिम बढी हुन्छ । मनसुन सक्रिय बन्दै जाँदा आउने बाढीले पानीका स्रोतहरू प्रदुषित बन्छन् र हैजाको जोखिम पनि बढ्छ । बाढीका कारण अधिकांश पानीका मुहान फोहोर हुने भएकाले थप सजग हुनुपर्ने धादिङ अस्पतालका डा.रामचन्द रिजालको भनाई छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार सुरुमा सामान्य झाडापखाला जस्तै लक्षण देखिए पनि पटकपटक पातलो दिसा हुनु र पानी जस्तै बान्ता हुनु हैजाको लक्षण हो । गर्मी र वर्षातको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दुषित पानी र त्यस्तो पानी प्रयोग भएको खाने कुराले मानिसमा यो रोगको सङ्क्रमण हुनसक्ने डा. रिजाल बताउनु हुन्छ ।
समयमै उपचार नपाउँदा केही घण्टामै ज्यान जानसक्ने हैजा जस्तो सरुवा रोगबाट सामान्य सजगता अपनाए पनि बँच्न सकिने डा. रिजालको भनाइ छ ।
यस वर्ष धादिङ अस्पतालमा हैजाको कुनै पनि विरामी पुष्टी नभएता पनि हैजासंग मिल्दाजुल्दा मौसमी फ्लुहरुका बिरामीको चाप भने बढ्दै गएको डा.रामचन्द्र रिजाल बताउनुहुन्छ ।
बुधबार थप दुईजनामा हैजा भेटिएको छ। नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनअनुसार विश्वभर हरेक वर्ष १३ देखि ४० लाख मानिसमा हैजा देखिने गरेको छ । जसमध्ये २१ हजारदेखि एक लाख ४३ हजार जनाको मृत्यु हुन्छ ।
समयमै उपचार नपाउँदा केही घण्टामै ज्यान जानसक्ने हैजा जस्तो सरुवा रोगबाट सामान्य सजगता अपनाए पनि बँच्न सकिने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस