परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् । सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले बताइन् ।
यसअघि सन् २०१५ र सन् २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको थियो । त्यसपछि अमेरिकाले सन् २०१९ मा नेपाललाई एसपीपीमा सहभागी गराएको थियो ।
गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस