गोरखा १६ आषाढ
कृष्ण बहादुर लामिछाने
गोरखाको भिमसेनथापा गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराले कार्यक्रमको सुभारम्भ गर्नुभएको हो । बुढिगण्डकी बुद्धाश्रम भिमसेनथापा–३ तान्द्राङ अमेली चउरबाट कार्यक्रमको सुरुवात गरिएको हो ।
गाउँपालिकाले अब नियमित रुपमा जेष्ठ तथा अशक्त नागरिकहरुलाई घरदैलोमै गएर स्वास्थ्य सेवा दिने अध्यक्ष बञ्जराले बताउनु भयो । गाउँपालिकाको ८ वटै वडाबाट सेवा सुरु गरिएको हो ।
बुढीगण्डकी बृद्धाश्रमका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिहरुमा वुुढिगण्डकी वृद्धाश्रमका महासचिव वालकृष्ण लामिछाने र वडा नं ३ का अध्यक्ष ऋषीराम लामिछाने रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बञ्जराले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्थास्थ्य सेवा कार्यक्रम गाउँपालिकाको ८ वटै वडामा आजबाट मासिक रुपमा नियमित हुने र कोभिड खोप लगाउन छुट भएका सबै नागरिकलाई टोल टोलमा कोभिड खोप समेत प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, समाजसेवी लगायत वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस