धादिङ १३ असार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
ईन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले नेपाल मानवअधिकार वर्ष पुस्तकमा धादिङका अर्धवार्षिक रुपमा २० घटना समाबेश हुने बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्लामा ६ महिनाको अवधिमा स्थानिय तह निर्वाचनको समयमा भएको ९ वटा कुटपिटको घटनामा ३३ जना घाईते भएको, २ वटा घर तोडफोड, १ वटा लुटपाटको घटना भएको उल्लेख गरिएको छ ।
यसैगरि जातिय छुवाछुतको २ वटा, बाल बलात्कारको १ वटा, गाउँ निकालाको १ वटा, बालबालिका कुटपिटको २ वटा, कर्मचारी कुटपिटको १ वटा, वृद्ध हत्या १ वटा घटना भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले मानव अधिकारप्रति प्रतिवद्धता जनाउदै मानवअधिकार घटना थाहा पाउन ईन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुर्ण भएको बताउनुभयो ।
आफैले बनाएको कानुन राजनितिक दलले उल्लंघन गरेर मौन अवधीमामा कानुनको उल्लंघन गरेको जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारीले विद्यमान कानून कार्यान्वयन गर्न कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै मौनअवधीमा आचारसंहिता बढि उल्लंघन भएकोले यसलाई सुधार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानवअधिकार वर्ष पुस्तक पुर्याउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस