धदिङ ०१ श्रावण
धादिङ जिल्लामा ११ हजार ६ सय जनाले पहिलो किस्ता बापतको रु. ५० हजार लिएर आवास निर्माण कार्य सुरु नगरेको पाइएको छ । बुधबार धादिङबेसीमा भूकम्प पीडित घर पुर्न निर्माणको लागि सहुलियत दर ऋण सचेतना कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । सक्षम संस्थाले आयोजना गरेको सो कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता, नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीको प्रमुख आतिथ्यता, राष्ट्रिय पुर्न निर्माण प्राधिकरण वैदेशिक सहायता प्रमुख दिव्यराज पोखरेलको विशेष आतिथ्यता, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज पौडेल, जिल्ला अनुदान व्यवस्थापन कार्यान्वयन इकाई धादिङका प्रमुख जयराम श्रेष्ठ, नीलकण्ठ नगरपालिका भित्रका १४ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न बैंकका प्रमुख, भूकम्प पुर्न निर्माणका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानीय भूकम्प लाभग्राही, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
पहिलो किस्ता बापतको रु. ५० हजार रकम लिएर आवास निर्माण गर्न नसकेका भूकम्प लाभग्राहीहरुलाई ऋण सहायता बापतको रु. ३ लाख कर्जा प्राप्त गराउनको लागि सहजीकरण गर्ने उद्देश्यले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँ पालिका र धुनिबेसी नगरपालिकामा संक्षम संस्थाले आफ्नो कार्यक्षेत्र बनाइ काम सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले भूकम्प लाभग्राहीहरुलाई सहुलियत कर्जा सहजीकरण कार्यक्रम ढिलो आएको तर अत्यन्त सकारात्मक र स्वागत योग्य रहेको बताउँदै लाभग्राहीहरुलाई सहुलियत कर्जा दिने सम्बन्धमा जिल्लास्थित बैँकका प्रमुखहरु नै अन्योलमा रहेको बताउँनु भयो ।
यस्तै नीजि आवास निर्माण गर्न नसकेका भूकम्प लाभग्राहीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउँदै भूकम्प पीडित सबै लाभग्राहीहरुलाई आवास पूर्न निर्माणमा ल्याउनको निमित्त सबै सरोकारवाला निकाय र व्यक्तिहरु आफ्नो ठाउँबाट जिम्मेवार ढङ्गले लाग्नुपर्ने बताउँनु भयो । नीलकण्ठ नगरपालिकामा १ हजार ८ सय ३ जना लाभग्राहीले पहिलो किस्ता लिएर पनि आवास निर्माण प्रकृयामा सहभागी भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस