धादिङ ०४ असार
बागमती प्रदेशको आगामी आव ०७९÷८० को सबैभन्दा धेरै बजेट मकवानपुर र धादिङ जिल्लाले पाएको छ । बागमती प्रदेशका अर्थमन्त्री शालिकराम जम्कट्टेलले गत बुधबार आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
मकवानपुर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँको जिल्ला हो भने धादिङ प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलको जिल्ला हो । प्रदेशका १३ वटा जिल्लामध्ये कूल बजेटमा सबैभन्दा धेरै मकवानपुरले पाएको भए पनि विकास बजेट भने धादिङले धेरै पाएको छ ।
मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री जम्कट्टेलको जिल्ला धादिङले कूल बजेट १ अर्ब ८२ करोड ७२ लाख ७३ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको लागि प्रदेश सरकारले २ अर्ब ८ करोड ४३ लाख ४६ हजार रुपैयाँ बजेट पाएको छ । मकवानपुरले विभिन्न अनुदानसहित धेरै बजेट पाउँदा धादिङले प्रदेश सरकारबाट विकास बजेट धेरै पाएको छ ।
मकवानपुरले चालू र पुँजीगततर्फ ७५ करोड ८५ लाख २० हजार पाउँदा धादिङले ९१ करोड ३४ लाख ४० हजार रुपैयाँ पाएको छ ।
धादिङले समानीकरण अनुदानतर्फ १९ करोड १० लाख १३ हजार, सशर्त अनुदानतर्फ ३३ करोड ८१ लाख १५ हजार, विशेष अनुदानतर्फ ८ करोड ७० लाख र समपूरक अनुदानमा २९ करोड ७७ लाख १२ हजार विनियोजन गरिएको छ।
मकवानपुरलाई समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख ३२ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ २६ करोड २२ लाख ९४ हजार, विशेष अनुदानतर्फ ८ करोड १५ लाख अनुदान छुट्याइएको छ। समपूरक अनुदानमा ११ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस