धादिङ ०२ आषाढ
संयुक्त दलित संघर्ष समिति धादिङले नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानालाई ज्ञापन पत्र बुझाएको छ । यसअघि संघर्ष समितिको पटक पटकको माग सम्बोधन नगरेको र यो कार्यकालमा दलित संघर्ष समितिले उठाएका मागहरु सम्बोधन गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
१२ बुँदे ज्ञापन पत्रमा कक्षा १ देखि उच्च शिक्षासम्म अध्ययन गर्ने दलित विद्यार्थीहरुलाई निःशुल्क शिक्षा हुनुपर्ने, नगरपालिकाको शिक्षा ऐन संसोधन गरिनुपर्ने, विपन्न गरिब तथा दलित विद्यार्थीहरुलाई पूर्णं छात्रवृत्ति सहित आवासीय छात्राबासको व्यस्था गरिनुपर्ने, दलित कर्मचारी, शिक्षक तथा प्राविधिकहरुलाई जागिरमा पुर्नबहाली गरिनुपर्ने, सम्पूर्ण नगरबासीको निःशुल्क बिमा गरिनुपर्ने लगायतका मागहरु रहेका छन् ।
यसअघिका मागहरु पनि नगरपालिकाले लत्याएको बताउँदै ज्ञापन पत्रमा माग पुरा नभए पुनः चर्को आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ढुङ्गानाले संघर्ष समितिले उठाएका मागका विषयमा नगरकार्यपालिका बैठकमा छलफल गरेर प्रकृयामा लैजाने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस