धादिङ ०२ आषाढ
धादिङको नीलकण्ठ नगरपालिकाभित्रका बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुले आफ्नो तलब १७ हजार बनाउन माग गरेका छन् । बिहिबार नगर प्रमुख भिम प्रसाद ढुङ्गानालाइ ज्ञापन पत्र बुझाउदै संघीय सरकारले घोषणा गरेको कार्यक्रम लागु गर्न माग गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै ढुङ्गानाले संघीय सरकारले घोषणा मात्र गर्ने तर पर्याप्त बजेट निकाशा नगर्ने गरेकाले संघीय सरकारको निर्णय स्थानीय तहले मान्नै पर्ने बाध्यता नभएको बताउनु भयो । मेयर ढुङ्गानाले नगरपालिकाले क्रमिक रुपमा सम्बोधन गर्दै आएकाले आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममा केही मात्रामा भए पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीले किस्ता किस्तामा भन्दा पनि एकै पटक श्रम ऐनले तोकेको पारिश्रमिक र केन्द्र सरकारले तोकेको तलब भत्ता व्यवस्थापन गर्न नगर प्रमुखलाई आग्रह गर्नुभयो । हाल बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई केन्द्र सरकारले ८ हजार र नगरपालिकाले २ हजार मासिक रुपमा दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस