एक सर्वेक्षण अनुसार नेपालमा संकलित हुने फोहोरको २७ प्रतिशत फोहोर नदी किनारमा फाल्ने गरिएको पाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तथ्यांक विभागमार्फत सन् २०२० मा २ सय ७१ वटा नगरपालिकामा गरेको आधार रेखा सर्वेक्षण अनुसार यस्तो देखिएको हो ।
संकलित फोहोरमैलाको आयतनको आधारमा कुहिने फोहोरको अंश ५४ प्रतिशत, रासायनिक फोहोरको अंश ३३.३ प्रतिशत र अन्य फोहोरको मात्रा १२.७ प्रतिशत रहेको देखाएको छ ।
सर्वेक्षणले संकलित फोहोमैलामध्ये ४८.६ प्रतिफल ल्यान्डफिल साइटमा बिसर्जन हुने, ३२.१ प्रतिशत जलाउने र २७.४ प्रतिशत फोहोर नदी किनारमा थुपार्ने गरिएको उक्त सर्वेक्षणले देखाएको छ । सर्वेक्षण गरेका नगरपालिका मध्ये ४२.१ प्रतिशतले मात्र ल्यान्डफिल साइटको प्रयोग गर्ने गरेका र ल्यान्डफिल साइटको प्रयोग गर्ने मध्ये ८५.१ प्रतिशतले आफ्नै ल्यान्डसाइट प्रयोग गर्ने गरेको देखिन्छ ।
उपलब्ध ल्यान्डफिल साइटको औसत आकार १५ हेक्टर रहेको छ भने औसत क्षमता २९ हजार ८ सय ७७ घनमिटर रहेको देखिन्छ । ल्यान्डफिल साइटको औसत दुरी ४.३ किलोमिटर र औसत आयु १६.३ वर्ष रहेको छ ।
साभार : अनलाइनखबर
प्रतिक्रिया दिनुहोस